आमुख

यो मेरो व्यक्तिगत वेबसाइटमा यहाँलाई स्वागत गर्दछु।

आफ्नो जीवन यात्रालाई नियाल्न मसँग आफ्नै अभिलेखहरु व्यवस्थित रहेनछन्। स्मृतिमा रहेका कुरा बिस्तारै घट्दै जान थाले। छापिएका सामग्रीमा धुलो-धमिरो लाग्न थाले, कतिपय कसैलाई दिएर हराएँ, कति नदिइकनै हराएँ। यी सामग्री जोगाउनु पर्छ भन्ने लाग्यो। यसो गर्न आफ्नो कम्प्युटर भन्दा वेबसाइट बढी उपयुक्त ठानेँ।

यहाँ मेरो संक्षिप्त परिचय, पेसागत जीवन र प्राज्ञिक गतिविधिका सूचना छन्। प्रकाशित सामग्रीका उपलब्ध भएसम्मका विद्युतीय प्रति वा तिनको स्रोतसम्म पुग्ने कडी संलग्न छन्। त्यस्तो उपलब्ध नभएका सामग्रीको सन्दर्भ मात्र उल्लेख गरिएको छ। पुस्तकहरुका भने गाताको फोटो मात्र राखेको छु। यी सामग्री उपयोगी छन् भने लिन मिल्ने सम्मका डाउनलोड गरेर लिन र स्रोत उल्लेख गरेर उचित प्राज्ञिक प्रचलन अनुसार प्रयोग गर्न सक्नुहुन्छ।

यो वेबसाइट नेपाली र अङ्ग्रेजी भाषामा उपलब्ध छ। वेबपेजको सबैभन्दा माथि देब्रे कुनामा उपलब्ध कडीमा थिचेर अर्को भाषाको वेबसाइटमा जान सकिन्छ। दुबै वेबसाइटमा उपलब्ध सूचना उही हुन्। प्रकाशित सामग्रीका शीर्षक अनुवाद सहित र बाँकी सन्दर्भ सूचना सम्बन्धित भाषामै यथावत् राखेको छु।

यहाँ सूचीकृत कतिपय मूल सामग्री वा तिनको मूल स्रोतको कडी दिन सकेको छैन। कतिपय सामग्री सूचीमा राख्न सकेको छैन। यो अपूर्णतालाई क्रमशः पूरा गर्दै जाने छु।

यहाँ प्रस्तुत सामग्रीको तथ्यमा तलमाथि नहोस् भन्नेमा सावधान छु। त्यसो हुँदा हुँदै पनि त्रुटि हुन पुगेको रहेछ भने सच्याउने छु।

प्रश्न गर्नु मेरो पेसागत धर्म हो। आह्वान गर्छु – प्रश्न गरौँ।